समाचार

सरकार फिर्ता बोलाएका ६ राजदूतले दिए राजीनामा

१९ मंसिर, काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ राजदूतमध्ये ६ जनाले राजीनामा दिएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार सबैको राजीनामा स्वीकृत भइसकेको छ।

हाल रुसका लागि जंगबहादुर चौहान र मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिनाले राजीनामा दिएका छन्। यसअघि अमेरिका, चीन, बेलायत र कतारका राजदूतले पनि राजीनामा दिइसकेका थिए।

सरकारले ३० असोजमा राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो, तर सर्वोच्चले १६ कात्तिकमा अन्तरिम आदेश जारी गर्दै टुंगो नलागेसम्म कार्यान्वयन नगर्न भनेको थियो।

आदेशपछि उनीहरूलाई मन्त्रालयमा हाजिर भएर कामकाज गर्न भनिएको थियो। बाँकी ५ राजदूत भने हाल मन्त्रालयमा हाजिर भएर काम गरिरहेका छन्।