राजनीति

‘पार्टी जनता भन्दा पनि व्यक्तिवादतर्फ गयो’: एमाले उपाध्यक्ष पाण्डे

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी पटक–पटक व्यक्तिवादमा जाकिँदै जनताबाट टाढिँदै गएको चेतावनी दिएका छन्। काठमाडौंमा आयोजित अन्तर संवाद कार्यक्रममा बोल्दै उनले एमाले “साँघुरिँदै, खुम्चिँदै, आइसोलेसनतिर” अघि बढिरहेको बताए।

पाण्डेका अनुसार पार्टीभित्र चुनाव नहुने, प्रतिस्पर्धा रोकिने र माथिबाटै सूची तोकिने प्रवृत्तिले नवपुस्तालाई समेत आकर्षित गर्न छाडेको छ। “यस्ता पार्टीमा नयाँ पुस्ता किन लाग्ने?” भन्दै उनले नेतृत्व संरचनामा सुधार अनिवार्य भएको संकेत गरे।

उनले एक व्यक्तिले दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था कानुनमै राख्नुपर्नेमा जोड दिए। नयाँ तथा पुराना सबै पार्टीमा नेतृत्व नछाड्ने प्रवृत्ति बढिरहेको भन्दै पाण्डेले राजनीतिक, कानुनी र संवैधानिक ढाँचामार्फत यसको समाधान खोज्नुपर्ने बताए।