राजनीति

वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा पार्टी अध्यक्ष ओलीलाई ‘अवधारणा–पत्र’

२२ मङ्सिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औँ राष्ट्रिय महाधिवेशनका सन्र्दभमा आफ्नो अवधारणा पत्र बुझाएका छन् ।

पार्टीका महासचिव शङ्कर पोखरेलमार्फत उनले सो अवधारणापत्र बुझाइका हुन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीलाई लेखिएको ‘अवधारणा–पत्र’ पार्टी महासचिव पोखरेललाई बुझाएका हुन् । अध्यक्ष ओलीलाई बुझाउने भनेता पनि समय नमिलेपछि महासचिव पोखरेललाई उनले ‘अवधारणा–पत्र’ बुझाएका हुन् ।

अवधारणा पत्रमा पार्टी महाधिवेशनमा पार्टीको कार्यक्रम, कार्यदिशा, संगठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको माग गरेका छन् । उनले महाधिवेशनमा छलफलका लागि तयार पारिएको ‘अवधारणा–पत्र’ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरी प्रतिनिधिको बिचमा छलफल गर्ने समेत वातावरण मिलाउन अध्यक्ष ओलीलाई अनुरोध गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौ २३ गते भएको ‘जेन–जी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछि मुलुकमा असाधरण फेरबदल भएकाले पार्टीले लिएका नीति र कार्यनीतिका समस्याबारे पुनः मूल्याङ्कन गर्नुपर्ने बताए ।

“राष्ट्रिय महाधिवेशनमा पार्टीको कार्यक्रम, कार्यदिशा, संगठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको आवश्यकता देखिएको छ । हिजोका हाम्रा कतिपय निष्कर्षलाई नयाँ सन्दर्भमा अद्यावधिक गर्न जरुरी भएको छ,” उनले अवधारणा पत्रमा उल्लेख गरे ।

अवधारणा पत्र बुझाउन वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराईसमेत गएका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेका छन् ।