२२ मङ्सिर, कपिलवस्तु । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले लैङ्गिक आधारमा हिंसाको सामाना गरिरहेका महिलामाथि ‘डिजिटल’ हिंसा थप चुनौतीका रूपमा देखिएको बतएका छन् ।
कपिलवस्तुको वाणगङ्गा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘डिजिटल प्रविधिको सही प्रयोगसम्बन्धी अन्तरक्रिया’ मा उहाँले सूचना–प्रविधिको दुरुपयोग हुँदा युवती, महिला, यौनिक अल्पसङ्ख्यक तथा संवेदनशील समूहका व्यक्तिले नयाँ प्रकारका हिंसाको सामना गर्नुपरेको बताइन्
उपाध्यक्ष घिमिरेले आक्रमक टिप्पणी, गालीगलौज तथा अपमानजनक प्रतिक्रियाहरूका कारण धेरै युवतीहरू सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्न पनि डराउने स्थिति उत्पन्न भइरहेको बताइन् । “डिजिटल हिंसाले व्यक्तिको मानसिक स्वास्थ्यमा मात्र होइन, सामाजिक सहभागिता, आत्मविश्वास, पेसागत अवसर र नेतृत्व क्षमतामा समेत गम्भीर असर पारिरहेको छ”, उनले भनिन्,“डिजिटल प्रविधि झनै उन्नत बन्दै जाँदा हिंसाका नयाँ–नयाँ रूप देखा पर्नसक्ने र महिला, नेतृ, पत्रकार, जनप्रतिनिधि तथा सार्वजनिक व्यक्तित्वविरुद्ध चरित्र हत्या हुने अवस्था छ । यसबारे समयमै सचेत हुन आवश्यक छ ।”
उपाध्यक्ष घिमिरेले डिजिटल हिंसा कुनै काल्पनिक समस्या नभई महिला, किशोरी र हजारौँ नागरिकले दैनिक भोगिरहेको वास्तविकता भएको उल्लेख गर्दै यसको बदलिँदो स्वरुपअनुसार रोकथामका रणनीति अद्यावधिक हुनुपर्नेमा जोड दिइन् ।





