लुम्बिनी

कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज

२३ मङ्सिर, घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि कृषकाई उत्पादन बिक्री गर्न सहज भएको छ । केन्द्र सञ्चालनमा आएपछि बजारीकरणमा निकै सहज भएको किसानको भनाइ । उपभोक्ताले पनि सस्तो मूल्यमा कृषिजन्य उपज उपभोग गर्न पाएको बताएका छन् ।

जिल्लाका किसानले विगतमा आफ्नै हिसाबले, तरकारी, फलफूललगायत बेच्ने गरे पनि अहिले कृषि उपज केन्द्रमै ल्याउन थालेको स्थानीय सरिता खड्काले बताउ छिन्। उनी हरेक दिन बिहान केन्द्रमै तरकारी खरिद गर्न आउँ छिन् । “बाहिर तरकारी महंगो पर्छ, तर यहाँ ताजा र सस्तो दुवै पाइन्छ,”, उनले भने, “कृषि उपज केन्द्रले हामी जस्ता उपभोक्ता र दुःख गर्ने कृषकलाई सजिलो बनाइ दिएको छ ।

घोराही उपमहानगरपालिका–२ रामपुरका किसान अमर चौधरीले पनि अन्यत्रभन्दा केन्द्रमा सस्तोमा तरकारी पाइने बताएका छन् । चौधरीले अहिले १० कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । बाहिरको मूल्यभन्दा केन्द्रमा ५/१० रुपैयाँ बढीमा बिक्री गर्ने गरेको उनको भनाइ छ ।

सिजनमा तरकारीले मूल्य पायो भने मासिक ३५ हजार रुपैयाँ बढी आम्दानी गर्न सकिने उनले बताए । कृषि उपज बिक्री केन्द्रमा आफ्नो उत्पादन राम्रै बिक्री हुँदै आएको उनले बताए । “आफूले फलाएको काउली, बन्दा, गोलभेँडा, साग, खुर्सानी बेच्न ल्याउने गरेको छु । ल्याएको जति सधँै बिक्री हुन्छ, कहिलेकाही मात्रै बच्ने गर्दछ”, चौधरीले भने ।

घोराही उपमहानगरपालिका–७ का सृजना चौधरी आफूले उत्पादन गरेको वस्तु बिक्री गर्न आउने गरेको बताउ छिन् । धेरै खेती नभए पनि यस ठाउँमा बिक्री गर्न समस्या नभएको उनले बताउ छिन् । कृषि उपज केन्द्र सञ्चालनमा आएदेखि किसान र उपभोक्ता दुवैलाई सहज भएको उनको अनुभव रहेको छ ।

उपमहानगरपालिकाले सञ्चालन गरेको यस केन्द्रमा किसानले हरेक दिन १५ रुपैयाँ शुल्क तिरेर गाउँबाट ल्याएको ताजा तरकारी बिक्रीका लागि राख्ने गर्छन् । घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि ग्रामीण क्षेत्रका किसानलाई घरघरमै पुगेर तरकारी बिक्री गर्न समस्या भएकोमा अहिले भने सहज भएको बताए ।