२४ मंसिर, काठमाडौं । बराहक्षेत्र नगरपालिकाका सव–इन्जिनियर शिव नारायण मण्डलको नक्कली सटिफिकेट भएको भन्दै अख्तियार दुरुपयोग आयोगले मुद्दा गर्दा गराएको छ ।
आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिएका छन् ।
यस्तो छ अख्तिारको विवरण
बराहक्षेत्र नगरपालिका, चक्रघट्टी, सुनसरीका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेकोले अनुसन्धान गरी पाऊँ भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज प्रतिवादी शिव नारायण मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट माध्यमिक(हाईस्कूल) तहको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको तथा मडैया बलुवा उच्च विद्यालयको विद्यालय परित्याग समेतको नक्कली झुट्टा शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेश गरी जिल्ला विकास समितिको कार्यालय, सुनसरीमा मिति २०५३÷०४÷०१ देखि लागू हुने गरी सहायक सव–ओभरसियर (रा.प.अनं. द्वितीय सरह) पदमा स्थायी नियुक्ति लिई मिति २०६७÷१०÷०७ देखि सहायक इन्जिनियर पदमा बढुवा भई निजले तलब भत्ता सहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुविधा प्राप्त गरेको देखिएकोबाट निज प्रतिवादी शिव नारायण मण्डलको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ





