२५ मङ्सिर, काठमाडौं । डडेलधुराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
ना ८ ख ७४५५ नम्बरको बस आज बिहान करिब ३ बजे दाङ देउखुरीस्थित लमही नगरपालिका–१ को कौडिया पुलनजिकैबाट सडकभन्दा लगभग तल खस्दै दुर्घटनामा परेको हो। बसमा कुल ३८ जना सवार रहेका थिए।
दुर्घटनापछि घाइते सबैलाई स्थानीयवासी र प्रहरी टोलीले उद्धार गरी लमही अस्पतालमा उपचारका लागि पठाइएको वडा प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रोशनराज पाण्डेले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार बस चालकले ‘पट्टा भाँचिएर वाहन अचानक अनियन्त्रित भएपछि दुर्घटना भएको’ बयान दिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।





