२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचन मिति फागुन २१ बाट वैशाखसम्म सरे पनि चुनाव प्रक्रियामा ठूलो असर नपर्ने बताएका छन्। शर्माले जेनजीलाइ अपनत्व दिलाउन, निर्वाचन वातावरण तयार गर्न र हिमाली क्षेत्रमा सहजता ल्याउन मिति सर्नु स्वाभाविक भएको बताए।
शर्माले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘GenZ समूहहरुलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा पुग्नुपरे त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्नुपर्ने हुन्छ । सहमति र सहकार्य मार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो ।’
उनले सरकार र जेनजीलाइ भएको सहमतिलाई स्वागत गर्दै, कार्यान्वयनमा फागुन २१ को मिति बाधक नहुने पनि स्पष्ट पारे। तर, उनले सहमति निर्माणमा दलहरूको सहभागिता नभएकोप्रति असन्तुष्टि व्यक्त गरे र यस विषयमा सरकारलाई गम्भीर हुन सुझाव दिए।





