२८ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । आज बिहान पौने ६ बजे गरिएको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् रुबी पौडेलका अनुसार तापक्रमको अद्यावधिक विवरण आज बिहान पौने ९ बजे सार्वजनिक गरिनेछ ।
मौसमको अवस्था अनुसार आज बागमती, कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
त्यसैगरी आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम प्रायः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।





