२९ मंसिर, काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच नजिक भएको भीषण गोलीकाण्डमा १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको छ । यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ ।
आइतबार स्थानीय समयअनुसार साँझ ६:४७ बजे बोन्डी बीच नजिकैको पार्क क्षेत्रमा गोली चलेको हो । प्रहरीका अनुसार मृतकमध्ये एक जना आक्रमणकारी पनि छन् भने अर्को संदिग्ध गम्भीर अवस्थामा रहेका छन् । घटनामा दुई जना प्रहरी अधिकारीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन् । हाल करिब ४० जना अस्पतालमा उपचाररत छन् ।
गोली चलेको सूचना पाएलगत्तै न्यु साउथ वेल्स प्रहरीले ठूलो स्तरको अपरेसन सुरु गरेको छ । प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बोन्डी बीच क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको जनाउँदै सर्वसाधारणलाई घटनास्थल आसपास नजान र सुरक्षाका निर्देशन पालना गर्न आग्रह गरेको छ ।
घटनापछि सार्वजनिक भिडियो फुटेजमा पुलबाट दुई जना बन्दुकधारीले पार्कतर्फ अन्धाधुन्ध गोली प्रहार गरेको देखिन्छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार प्रहरीले ‘एक्टिभ सुटर’को सूचनाका आधारमा कारबाही गरिरहेको छ । स्थानीय सञ्चारमाध्यम सेभेन न्यूजले गोलीको आवाज सुन्नासाथ सयौँ मानिस समुद्री तटबाट ज्यान बचाउन भागेको दृश्य देखिएको जनाएको छ ।
घाइतेको उपचारमा रगत अभाव
घाइतेहरूको उपचारका लागि सिड्नीका अस्पतालमा रगतको अभाव देखिएको छ । यसपछि लाइफ ब्लड अष्ट्रेलियाले ‘ओ’ नेगेटिभ रगतको आपतकालीन माग गरेको छ । सिड्नीका बासिन्दालाई रक्तदान गर्न आग्रह गरिएको छ भने अत्यधिक चापका कारण लाइफ ब्लडको वेबसाइटमा अस्थायी प्राविधिक समस्या देखिएको जनाइएको छ ।
घटनाको विस्तृत अनुसन्धान जारी रहेको र मृतक तथा घाइतेको संख्या अद्यावधिक हुने प्रहरीले जनाएको छ ।





