समाचार

एमाले महाधिवेशनः नयाँ नेतृत्व छान्न मतदान स्थलमा जुटे प्रतिनिधि

२ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ।

यसपटक मतदान विद्युतीय मेसिनमार्फत गरिनेछ। मंगलबार साँझका लागि तय गरिएको मतदान केही प्राविधिक कारण देखाउँदै आज बिहानका लागि सारिएको थियो। बिहान ८ बजेदेखि मतदान सुरु हुने जानकारी पाएसँगै प्रतिनिधिहरू मतदान स्थलमा लाइनमा बसिसकेका छन्।

प्राविधिक टोलीका लक्ष्मण रिमालका अनुसार मतदानका लागि प्रयोग हुने विद्युतीय मेसिनहरू पूर्ण रूपमा तयार अवस्थामा छन्। उनले प्राविधिक तयारी पूरा भइसकेको र निर्वाचन आयोगबाट आदेश प्राप्त भएपछि तत्काल मतदान सुरु गर्न सकिने बताए।

मतदानका लागि ८० वटा विद्युतीय मेसिन जडान गरिएको छ। रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेका मेसिनमार्फत कुल २ हजार २६३ प्रतिनिधिले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा भइरहेको छ।