समाचार

एमाले महाधिवेशन : मतदानअघि ओली पक्षद्वारा प्यानल सूची वितरण

२ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया अघि बढाउने तयारीसँगै भृकुटीमण्डपमा राजनीतिक गतिविधि तीव्र बनेको छ। मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवारहरूको सूची वितरण गरिरहेको छ।

नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल नेतृत्वको प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ। मतदानमा सहभागी हुन प्रतिनिधिहरू भृकुटीमण्डप परिसरमा लामबद्ध भई पालो कुरिरहेका छन्।

निर्वाचन समितिका अनुसार अध्यक्ष केपी शर्मा ओली मतदानस्थलमा पुगेपछि मात्र औपचारिक रूपमा मतदान सुरु गर्ने तयारी छ। यसअघि नै ईश्वर पोखरेल पक्षका नेता तथा समर्थकहरू मतदानस्थलमा उपस्थित भइसकेका छन्। उनीहरू लाइनमा रहेका प्रतिनिधिहरूसँग भेटघाट गर्दै भोट माग्ने काममा सक्रिय देखिएका छन्।

महाधिवेशन अन्तर्गतको यो मतदानलाई एमालेको भावी नेतृत्व निर्धारण गर्ने महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।