२ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा बुधबार बिहान साढे ११ बजेसम्म करिब साढे तीन सय मत खसिसकेको छ। यो जानकारी एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएका छन्।
उनका अनुसार भृकुटीमण्डपमा बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको हो। महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी रहेकाले सबैको मत खसाल्न समय लाग्ने र नतिजा आज मध्यरातसम्म आउने अनुमान गरिएको छ।
मतदान प्रक्रिया शीर्ष नेताहरूबाटै सुरु गरिएको थियो। अध्यक्ष पदका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले एकैसाथ मतदान गर्दै निर्वाचन प्रक्रिया आरम्भ गरेका हुन्। दुवै नेता आ–आफ्ना प्यानलसहित प्रतिस्पर्धामा छन्।
नयाँ नेतृत्व चयनका लागि यसपटक विद्युतीय मतदान प्रणाली अपनाइएको छ। निर्वाचन आयोगका अनुसार मतदानका लागि ८० वटा ई–भोटिङ मेसिन प्रयोग गरिएको छ।
मतदानस्थलमा प्रतिनिधिहरू लाइनमा बसेर पालैपालो मत खसालिरहेका छन् भने उम्मेदवारहरू स्वयं प्रतिनिधिहरूको लाइनमा पुगेर भोट माग्दै सक्रिय देखिएका छन्।





