समाचार

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती

९ पुस, ललितपुर । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा यो आश्रम ध्वस्त भएपछि त्यसयता आश्रम सुनसान छ । आगजनी र तोडफोडपछि आश्रम भग्नावेशष अवस्थामा छ । त्यसैले पुस ८ गते पर्ने भट्टराईको जन्मजयन्ती र स्मृति दिवसमा आश्रमको गेट बन्द थियो । आश्रममा विगतमा जस्तो कुनै विशेष कार्यक्रम आयोजना गरिएको थिएन । कुनै राजनीतिक दलका नेता तथा व्यक्तित्वहरुको उपस्थिति थिएन । आश्रमको ताला लगाउने ठाउँमा बेरिएको तार, आश्रम परिसरमा आगजनी गरिएका दुईवटा सवारी अलपत्र थिए । आश्रमको सिसा फुटाइएका झ्याल, ट्रष्ट फ्याँकिएको कार्यक्रमस्थल मात्रै बाँकी थिए । आश्रम अगाडि रहेको किसुनजीको शालिक तोडफोड गरिएको अवस्थामा थियो । लोकतन्त्रका लागि जेल जीवन बिताएका, सत्ता होइन सिद्धान्त रोजेका नेताको स्मृतिस्थलको यो हालत जो कोहीलाई पनि भावविह्वल बनाउने किसिमको थियोे । विसं १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा जन्मएका कृष्णप्रसाद भट्टराईको जीवन नेपालको आधुनिक राजनीतिक इतिहास हो भन्छन्, पूर्वसांसद प्राध्यापक होमराज दाहाल । “राणा प्रधानमन्त्री वीर शम्शेरको वक्रदृष्टिका कारण परिवार बनारस निर्वासित पारेका थिए, त्यही परिवेशले उनलाई राजनीतितर्फ डोहो¥यायो, सन् १९४२ को ‘अङ्ग्रेज भारत छोडो’ आन्दोलनमा सक्रिय सहभागी बनेर पहिलो पटक जेल परेका भट्टराई विद्यार्थी जीवनदेखि नै राजनीतिक चेतनाका संवाहक थिए”, प्राध्यापक दाहालले भने । बनारस हिन्दू विश्वविद्यालयमा अध्ययनरत रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष बनेर नेपाली युवामा राजनीतिक जागरण फैलाएका सन्तनेता विसं २००३ मा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन हुँदा महामन्त्री बनेका थिए । पछि नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एकीकरण भएर बनेको नेपाली कांग्रेसका सहमहामन्त्री भएका थिए । विसं २००७ को सशस्त्र क्रान्तिमा जनकपुर–उदयपुर कब्जा गर्ने मुक्ति सेनाका कमाण्डरका रूपमा उनको भूमिका इतिहासमा दर्ज छ । विसं २०१७ पुस १ गते राजा महेन्द्रको ‘कू’ पछि थापाथलीबाट बिपी कोइरालासँगै पक्राउ परेका भट्टराईले लगातार १० वर्ष जेल जीवन बिताएका थिए । जीवनभर गरेर १४ वर्षभन्दा बढी समय जेलमै बिताएका उनले निर्वासन कहिल्यै रोजेनन्। विसं २०५० मा स्नातकोत्तर अध्ययनका क्रममा आफूले भट्टराईको राजनीतिक जीवनीमा शोधपत्र तयार गरेको बताउछन् प्राध्यापक होमराज दाहाल । अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र सम्भव छ भन्ने दृढ विश्वास शन्त नेताको राजनीतिक कर्मको मूल आधार थियो । जेलमुक्त भएको केही समयमै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घको स्थापना समारोह उद्घाटन गरेर विद्यार्थी आन्दोलनलाई ऊर्जा दिएका भट्टराईलाई २०३४ को पटना सम्मेलनपछि बिपी कोइरालाले स्वास्थ्य कारण देखाउँदै कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठ भन्छन्, “बिपीको निधनपछि पनि करिब डेढ दशकसम्म किसुनजीले कार्यवाहक सभापतिकै रूपमा पार्टीको नेतृत्व गरे, जनआन्दोलनका सभापति, २०४७ मा अन्तरिम प्रधानमन्त्री, २०४६ को जनआन्दोलन घोषणासभा, क्षेत्रपाटी सम्मेलनको सभापतित्व किसुनजीले नै गरेका थिए ।” आन्दोलन सफल भएपछि एक वर्षभित्र संविधान निर्माण र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक पूरा गरेर उनले सत्ता होइन दायित्व प्राथमिकतामा राख्ने उदाहरण प्रस्तुत गरेको उनको भनाइ छ । आफू प्रधानमन्त्री हुँदा गराएको २०४८ को निर्वाचनमा उनी आफैँ पराजित भए । विसं २०१५ मा गोर्खा र विसं २०५१ मा काठमाडौँ क्षेत्र नं। १ बाट पनि पराजय भोगे । तर पराजयले पनि उनको राजनीतिक उचाइ घटेन, बरु शन्त नेताको छवि झन् प्रखर बनायो । भट्टराई अविवाहित रहे । प्रधानमन्त्रीबाट राजीनामा दिएर बाहिरिँदा छाता र कमण्डलु बोकेर हिँड्नु भएको उनको जीवनशैली राजनीतिमा दुर्लभ मानिन्छ । विसं २०४८ को निर्वाचनमा पराजित भएपछि बालुवाटार छोडेर छाता हातमै लिएर पैदल निस्किएको दृश्य आज पनि राजनीतिक नैतिकताको प्रतीक झैँ सम्झिन्छन् धेरैले । विसं २०६७ फागुन २० गते राति ११ बजेर २६ मिनेटमा काठमाडौँको नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा उनको निधन भयो । फागुन २१ गते पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो ।