समाचार

निर्वाचन आयोगको दलहरूलाई निर्देशन: ‘प्रमाणसहित मात्रै बन्दसूची पेश गर्न मिल्छ’

१२ पुस, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार बन्दसूची आवश्यक कागजात पूरा गरेर मात्रै पेश गर्न आग्रह गरेको छ।

आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै दलहरूलाई रीतपूर्वक बन्दसूची पेश गर्न अनुरोध गरेका हुन्। आयोगले पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेश गर्ने समयतालिका तय गरेको छ।

भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४, तथा प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ अनुसार विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी मात्रै बन्दसूची तयार गर्न सकिनेछ।

साथै आयोगले जनाएको छ कि दलहरूले तयार गरेको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुअघि सर्वसाधारणलाई सार्वजनिक गर्न पनि सक्छन्।

आयोगले यस प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन यो कदम चालिएको जनाएको छ।