१४ पुस, काठमाडौं । नेपाली कांग्रेसले अनुशासनको कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गरेको छ, तर बहाल पद भने कायम नरहने निर्णय गरेको छ।
शनिबार केन्द्रीय कार्यसम्पादन समितिले अनुशासनविपरीत काम गरेकाहरूको निलम्बन, निष्कासन वा स्वतः कारबाहीमा परेको बाँकी अवधि मिनाहा गर्ने निर्णय गरेको थियो।
पार्टीले आइतबार मातहतका कार्यसमितिहरूलाई पठाएको परिपत्रमा भने, “कारबाही माफी/मिनाहा भएका व्यक्तिहरूको पार्टीको बहाल पद नरहने गरी क्रियाशील सदस्यता नवीकरण गरी निरन्तरता कायम गरिने” उल्लेख गरिएको छ।
साथै, विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोगी कार्य गर्ने व्यक्तिहरूको कारबाही मिनाहा गरिने निर्णय पनि बैठकले गरेको थियो।





