२१ पुस, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एलएलबी सेकेण्ड इयर (कानुन संकाय)को नतिजा सार्वजनिक गर्दा पहिल्यै पास भइसकेको विषयमा पनि फेल देखाएको त्रुटी पाइएको छ।
पत्रकार कौशिला कुँवर यस गल्तीको शिकार भएकी छन्। उनले २०७९ सालमा पाँच विषयको परीक्षा दिएकी थिइन्, जस मध्ये तीनमा पास र दुईमा फेल भएकी थिइन्। फेल भएका दुई विषयमा पुनः परीक्षा दिएर पास भए तापनि पहिल्यै पास भइसकेको ‘पब्लिक इन्टरनेसनल ल’ विषयमा पनि अब्सेन्ट देखाएर फेल जनाइएको छ।
परीक्षा नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेलले गल्ती सच्याइने बताए। उनले भने, “सम्बन्धित विद्यार्थीले पास भइसकेको मार्कसिटसहित निवेदन दिनुपर्नेछ र आवेदन दस्तुर तिर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्नेछ।”
विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयको त्रुटीबाट बारम्बार सास्ती भोग्नु परेको गुनासो व्यक्त गर्दै अब यस्तो गल्ती दोहोरिनु नचाहेको बताएका छन्।





