काठमाडौं, २३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिने वा नदिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने चर्चा चलिरहेका बेला उनले अहिलेसम्म कुनै पनि पार्टीसँग छलफलसमेत नगरेको बताएका हुन्।
बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू हालसम्म कुनै पार्टीमा प्रवेश नगरेको र त्यसबारे न वार्ता गरेको न कुनै प्रतिबद्धता जनाएको बताए। उनका अनुसार अहिले सरकारको सम्पूर्ण ध्यान प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा निष्पक्ष र सफल चुनाव गराउन केन्द्रित छ।
मन्त्री खरेलले आफू चुनाव लड्ने भन्ने विषयमा सञ्चार माध्यममा आएका समाचार भ्रामक रहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। उनले आफूले उम्मेदवारीबारे निर्णय नगरेको तथ्य सार्वजनिक रूपमै प्रष्ट पार्दै सही सूचना सम्प्रेषण गर्न आग्रह गरे।





