२३ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। ठाकुरले बुधबार जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।
उनी महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका नेता हुन्। हालै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच १४ पुसमा एकता गर्ने निर्णय भएपछि ठाकुरलाई जसपा नेपालको तर्फबाट उम्मेदवार बनाइएको हो। एकता अघि ठाकुर लोसपाका अध्यक्ष थिए।
राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच चुनावी तालमेल भएको छ। १८ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट पाउने सहमति भएको छ।





