राजनीति

कांग्रेसमा विवाद चर्किँदै, पुस २७–२८ मा विशेष महाधिवेशन आह्वान

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसमा देखिएको आन्तरिक विवादका बीच विशेष महाधिवेशन आह्वान गरिएको छ। विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते विशेष केन्द्रीय महाधिवेशन गर्ने घोषणा गरेको हो।

विशेष महाधिवेशन पक्षधरले पार्टीले २०८२ पुस २८ भित्र १५औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरे पनि तोकिएको समयमा महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन अपरिहार्य बनेको दाबी गरेका छन्। उनीहरूले बाध्यात्मक अवस्थामा यो कदम चालिएको जनाएका छन्।

जारी विज्ञप्तिमा विशेष महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ। महाधिवेशनका लागि शान्ति सुरक्षाको व्यवस्था गर्न स्थानीय प्रशासनमा पत्राचार भइसकेको र स्थलका रूपमा भृकुटीमण्डप बुक गरिएको जनाइएको छ। साथै, विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मानिकट पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले विशेष महाधिवेशन नै एकमात्र विकल्प भएको बताएको छ। तर सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि विशेष महाधिवेशन सम्भव नभएको धारणा राखेको छ।