२५ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरू अलग्गै छलफलमा जुटेका छन्। पार्टीभित्र चुलिँदै गएको महाधिवेशनसम्बन्धी विवादलाई सहमतिमा टुंग्याउने प्रयासस्वरूप उनीहरूले आन्तरिक संवादलाई तीव्र पारेका हुन्।
समूहले यसअघि सभापति शेरबहादुर देउवा, इतर समूहका नेता डा. शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटेर विवाद समाधानका उपाय खोज्न आग्रह गरिसकेको छ। सोही क्रमलाई निरन्तरता दिँदै शुक्रबार ललितपुरको कुपण्डोलमा आन्तरिक छलफल गरिएको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन्।
केन्द्रीय सदस्य आङगेलु शेर्पाका अनुसार पार्टीभित्र महाधिवेशनको विषयमा उत्पन्न विवादलाई मध्यमार्गी निकासमार्फत व्यवस्थापन गर्ने विषयमा छलफल केन्द्रित थियो। यस समूहले निर्वाचनअघि नै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा लबिङ गर्दै आएको छ।
यसअघि २२ पुसमा समूहले नेता डा. शेखर कोइरालासँग छलफल गरेको थियो भने १८ पुसमा सभापति देउवा र महामन्त्रीद्वयसँग पनि संवाद गरेको थियो। १५औँ महाधिवेशनको कार्यतालिकाबारे बहस चलिरहेका बेला २५ सदस्यीय यो समूह निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने अडानमा उभिँदै आएको छ।





