प्रवास

एनआरएनए अमेरिका भन्छ: ‘मन्त्री बब्लु गुप्तालाई कुनै कार्यक्रमको निम्ता छैन’

२५ पुस, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा हुने कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट पारेको छ। मन्त्री गुप्ताको अमेरिका भ्रमणबारे समाचार सार्वजनिक भइरहेका बेला परिषद्ले विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो।

परिषद्का प्रवक्ता सन्देश उप्रेतीद्वारा जारी विज्ञप्तिमा एनआरएनए अमेरिकाको तर्फबाट युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई बोलाइएको भन्ने दाबी निराधार रहेको उल्लेख छ। परिषद्ले आफ्नो आधिकारिक स्वीकृति बिना गरिने कुनै पनि कार्यक्रम, भ्रमण वा फन्डराइजिङ गतिविधिसँग संस्थाको कुनै प्रकारको सम्बन्ध नरहेको जनाएको छ।

विज्ञप्तिमा परिषद्को नाम र पहिचान दुरुपयोग गर्दै गरिने गतिविधिलाई अवैध र अमान्य ठहर गरिने उल्लेख गर्दै त्यस्ता कार्यमा संलग्न व्यक्ति वा समूहविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ। साथै, यस्ता अनधिकृत गतिविधिबारे संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी र नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक जानकारी गराइने पनि परिषद्ले जनाएको छ।