प्रवास

पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व

२ असार, काठमाडौं ।  पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाको दोस्रो महाधिवेशन न्यूयोर्कको हिक्सभिलस्थित Village Green परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा पूर्ण श्रेष्ठ चयन भएका छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन लामिछाने, उपाध्यक्षमा किशोर लामिछाने, महिला उपाध्यक्षमा पुष्पा रेग्मी, महासचिवमा प्रकाश शर्मा, सचिवमा सविन क्षेत्री तथा कोषाध्यक्षमा राजन गुरुङ चयन भएका छन्। सदस्यहरूमा युवक श्रेष्ठ, सुदिन कुमार परियार, एम। प्रसाद रिजाल, केशव सुवेदी, प्रकाश क्षेत्री तथा निशान पौडेल क्षेत्री निर्वाचित भएका छन्।

महाधिवेशनको सभाध्यक्षता समाजका निवर्तमान अध्यक्ष सूर्य पौडेलले गरेका थिए। कार्यक्रममा संस्थापक अध्यक्ष हेमन मल्ल प्रमुख अतिथि तथा संस्थाका संरक्षक बाबुराम शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। निर्वाचन अधिकृतको भूमिका संस्थाका सल्लाहकार बसन्त चापागाईंले निर्वाह गरेका थिए भने निर्वाचन समितिमा संस्थाका अग्रज माया गिरी र कृष्ण कडेल रहेका थिए।

कार्यक्रममा एनआरएनए एनसीसी न्यूयोर्क च्याप्टरका अध्यक्ष दण्डपानी ९बासु० लामिछानेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्वागत मन्तव्य दिएको थिए। समाजमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका विभिन्न अग्रज व्यक्तित्वहरूले समेत शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन निवर्तमान सचिव विशाल रेग्मीले गरेका थिए। संस्थाका महासचिव प्रकाश शर्माले कार्यकाल २०२४–२०२६ को वार्षिक प्रगति प्रतिवेदन तथा आय–व्यय विवरण प्रस्तुत गरेका थिए।

महाधिवेशनमा न्यूयोर्कसहित अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गर्दै आएका पर्वतवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा समाजका संरक्षक, निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृतले नवनिर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

यस अवसरमा बाग्लुङ सेवा समाज तथा बाग्लुङ स्पोर्ट्स क्लबद्वारा आयोजित प्रथम बाग्लुङ कपमा सहभागिता जनाउने सम्पूर्ण भलिबल खेलाडीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो। साथै, नेपाल डे परेडमा सक्रिय सहभागिता जनाउने महानुभावहरूलाई समाज तथा एनआरएनए एनसीसीको तर्फबाट प्राप्त प्रशंसापत्र वितरण गरिएको थियो।

महाधिवेशनले पर्वतवासीहरूबीच आपसी एकता, सहकार्य र सामाजिक सेवाको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।