समाचार

उद्घाटनअघि कांग्रेस विशेष महाधिवेशन पक्षधरको जुलुस, काठमाडौं–ललितपुरबाट ६ रुट तय

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि काठमाडौंमा जुलुस प्रदर्शन गर्ने भएका छन् । २७ र २८ पुसमा आयोजना हुने विशेष महाधिवेशनको उद्घाटन समारोहअघि आइतबार मध्याह्न १२ बजे भृकुटीमण्डपमा जुलुससहित प्रवेश गर्ने तयारी गरिएको हो ।

विशेष महाधिवेशन आयोजक समितिले शुक्रबार भृकुटीमण्डपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता जगदीश्वरनरसिंह केसीले जुलुसका रुटबारे जानकारी दिएका हुन् । उनका अनुसार सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कनेछ ।

कुपण्डोल, सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरी गरी ६ स्थानलाई जुलुस जम्मा हुने केन्द्र तोकिएको छ । विभिन्न जिल्लाबाट आएका कांग्रेस नेता–कार्यकर्ता तोकिएका रुटमार्फत भृकुटीमण्डपतर्फ अघि बढ्नेछन् ।

सुन्धाराबाट निस्कने जुलुसमा चितवन, अर्घाखाँची, नवलपुर, सुदूरपश्चिम तथा काठमाडौं क्षेत्र ८, ९ र १० का नेता–कार्यकर्ता सहभागी हुनेछन् । रत्नपार्क र पद्मकन्या क्याम्पसबाट क्रमशः नुवाकोट, रसुवा, धादिङ, तराई–मधेसका विभिन्न जिल्लाका नेता–कार्यकर्ताको सहभागिता रहनेछ ।

शंकरदेव क्याम्पस र कमलपोखरीबाट काठमाडौं उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रका नेता–कार्यकर्ता जुलुसमा सहभागी हुनेछन् भने ललितपुरको कुपण्डोलबाट ललितपुर र मकवानपुरका नेता–कार्यकर्ता सहभागी हुने आयोजक समितिले जनाएको छ ।

सबै जुलुस तोकिएका रुट हुँदै भृकुटीमण्डप प्रवेश गरी विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय भएको छ ।