२९ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले दिउँसो ३:२५ बजेसम्म विभिन्न पदका लागि ३० वटा उम्मेदवारी फाराम वितरण गरिएको जनाएको छ । तीमध्ये ३ वटा फाराम सभापति पदका उम्मेदवारका लागि तय गरिएको हो ।
निर्वाचन समितिका अनुसार हाल फाराम वितरणको काम जारी छ भने फाराम बुझ्ने कार्य साँझ ५ बजेपछि मात्रै सुरु हुनेछ ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई सभापति शेरबहादुर देउवासहित संस्थापन समूहले बेवास्ता गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया नै अघि बढाएपछि संस्थापन समूहले भने यसलाई रोक्न आन्तरिक छलफल तीव्र बनाएको छ । सो छलफलमा पार्टी सभापति देउवा समूह, नेता शेखर कोइराला समूह तथा विशेष महाधिवेशन पक्षका नेताहरू सहभागी छन् ।
यसैबीच, कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक पनि जारी रहेको छ । पार्टीभित्रको विकसित राजनीतिक परिस्थिति र विशेष महाधिवेशनसँग सम्बन्धित विषयमा बैठकमा छलफल भइरहेको जनाइएको छ ।





