५ माघ, डोटी । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका मतदानस्थललाई सुरक्षा जोखिमका आधारमा सामान्य, संवेदनशील र अतिसंवेदनशील तीन वर्गमा विभाजन गरिएको छ ।
प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार प्रदेशभरका १,१७६ मतदानस्थलमध्ये ४८१ अर्थात् करिब ४१ प्रतिशत स्थल अतिसंवेदनशील मानिएका छन्। यस्तै, ३९५ मतदानस्थल (३३.५८%) संवेदनशील र बाँकी ३०० स्थल (२५.५१%) सामान्य श्रेणीमा राखिएका छन्।
जिल्लागत रूपमा हेर्दा कैलालीमा सबैभन्दा धेरै १०८ मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका छन्। कुल २३७ स्थलमध्ये १०६ संवेदनशील र केवल २३ मात्रै सामान्य मानिएका छन्।
कञ्चनपुरमा १३२ मध्ये ६६ स्थल अतिसंवेदनशील, ४० संवेदनशील र २६ सामान्य रहेका छन्। डोटीका ११८ मतदानस्थलमध्ये १३ अतिसंवेदनशील, ४४ संवेदनशील र ८१ सामान्यमा वर्गीकृत भएका छन्।
अछाममा १३० मध्ये ६६ अतिसंवेदनशील, ५० संवेदनशील र १४ सामान्य छन्। डडेल्धुराका १०४ मध्ये ३३ अतिसंवेदनशील, ३४ संवेदनशील र ३७ सामान्य मानिएका छन्। दार्चुलाका ११२ मध्ये १५ अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य सूचीमा परेका छन्। बैतडीमा १२९ मध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य छन्।
प्रतिशतका आधारमा सबैभन्दा बढी जोखिम बाजुरामा देखिएको छ। त्यहाँका ७७ मध्ये ६२ मतदानस्थल (८०.५१%) अतिसंवेदनशील मानिएका छन्, जबकि सामान्य केवल तीनवटा मात्रै छन्।
यस्तै, बझाङमा पनि अवस्था उस्तै छ, १३७ मध्ये ८५ मतदानस्थल (करिब ६२%) अतिसंवेदनशील छन् भने सामान्य केवल तीनवटा मात्रै छन्।
प्रदेश प्रहरीले जोखिमयुक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको जनाएको छ।





