१४ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह हाल सुदूरपश्चिम प्रदेशमा चुनावी प्रचारका लागि सक्रिय छन्। उनी मंगलबार कैलाली र कञ्चनपुरमा सम्पन्न कार्यक्रममा सहभागी भएपछि बुधवार पहाडी जिल्लाहरूको प्रचार अभियानमा लागेका छन्।
बालेन शाहले डडेलधुरा, बैतडी, दार्चुला र बझाङ जिल्लामा हुने कार्यक्रममा सहभागिता जनाउनेछन्। यस्तो सक्रियताले बालेनको उम्मेदवारी केवल झापा–५ मा सीमित नभई राष्ट्रिय बहसको विषय बनाउने प्रयास पनि देखिन्छ। शक्तिशाली प्रतिद्वन्द्वी केपी शर्मा ओलीसँगको प्रतिस्पर्धाको पृष्ठभूमिमा बालेनको प्रदेश–प्रदेशमा पुग्ने अभियानले उनको चुनावी अभियानलाई थप चर्चामा ल्याउने सम्भावना बढाएको छ।
बालेन शाहको सुदूरपश्चिम गतिविधि केवल प्रचारप्रसार मात्र नभई आफूलाई वैकल्पिक र ऊर्जाशील राजनीतिक पात्रका रूपमा प्रस्तुत गर्ने रणनीतिक कदमका रूपमा हेर्न सकिन्छ । बालेन शाह आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन्। यस निर्वाचनमा उनी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दै छन्।
उनको सुदूरपश्चिम अभियानले निर्वाचन क्षेत्र बाहिर पनि पार्टीको प्रचारप्रसारमा गति दिने अपेक्षा गरिएको छ।





