१४ माघ, काठमाडौं । बारामा एकै परिवारका आमा र छोराको हत्या घटनामा मृतककै बुहारी र अर्का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको बुधबार बिहान धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आक्रमणकै क्रममा आमाछोराको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एलएसआर न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानका क्रममा घटनामा संलग्न भएको आरोपमा मृतककै बुहारी र अर्का एक युवकलाई पक्राउ गरिएको हो। पक्राउ परेका ती युवक २६ जनवरी (१२ माघ) मा मात्रै दुबईबाट नेपाल फर्किएको खुलेको छ। दुबईको सारजाह विमानस्थलबाट काठमाडौं ओर्लिएलगत्तै उनी बारा पुगेका थिए।
प्रहरीका अनुसार बुहारी र ती युवकबीच विवाहेत्तर सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सो सम्बन्धबारे परिवारमा जानकारी भएपछि विवाद बढ्दै गएपछि योजनाबद्ध रूपमा आमाछोराको हत्या गरिएको आशंका गरिएको छ।
घटनाका सबै पाटा अनुसन्धानको क्रममा रहेको र थप तथ्य खुलेपछि सार्वजनिक गरिने जिल्ला प्रहरीले जनाएको छ।





