१५ माघ, काठमाडौं । विचाराधीन मुद्दाको पेशी व्यवस्थापनबारे छलफल गर्न भन्दै नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय नेताहरूले भेट्ने प्रयास गरेपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले भेटघाट गर्न अस्वीकार गरेका छन्। प्रधानन्यायाधीशको सचिवालयले भेटका लागि समय नत मागिएको नत तय गरिएको स्पष्ट पारेको छ।
विघटित प्रतिनिधिसभासम्बन्धी मुद्दामा रिट दायर गरेका श्यामकुमार घिमिरेसहितका नेताहरूले सार्वजनिक रूपमा प्रधानन्यायाधीशलाई भेट्ने घोषणा गरेपछि न्यायाधीशहरूको आचारसंहिता उल्लंघन हुन सक्ने भन्दै चौतर्फी प्रश्न उठेको थियो। त्यसपछि रिट निवेदक घिमिरेले नै भेट्ने योजना स्थगित भएको जानकारी दिएका हुन्।
प्रधानन्यायाधीशको सचिवालयले भेटको हल्ला असत्य भएको जनाएपछि कांग्रेस नेताहरूले प्रधानन्यायाधीश होइन, सर्वोच्च अदालतका रजिष्ट्रारलाई मात्र भेटेको बताएका छन्। सर्वोच्च अदालत प्रशासनका अनुसार प्रतिनिधिसभा विघटनसम्बन्धी सबै मुद्दाको नियमित तारिख आगामी २० गते तोकिएपछि पेशी मिति तय हुनेछ।




