राजनीति

‘सहिदका सपना साकार पार्ने संकल्प गरौँ’ : सभापति थापा

माघ १६, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदहरूले देखाएको बाटोमा हिँड्दै उनीहरूको सपना पूरा गर्न सबैले प्रण गर्नुपर्ने बताएका छन्। सहिद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले सहिदहरूको अदम्य साहस, सङ्कल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गरेका हुन्।

सभापति थापाले सहिदहरूले आफ्नो जीवन देश र जनताको हितका लागि समर्पण गरेकै कारण आज नेपाली जनताले स्वतन्त्रताको युगमा श्वास फेर्न पाएको उल्लेख गरे। उनले नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्तिदेखि २०८२ सालको ‘जेन–जी’ विद्रोहसम्म विभिन्न कालखण्डमा भएका आन्दोलन र सङ्घर्षमा बलिदान दिने सम्पूर्ण वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

सुदृढ र सबल लोकतन्त्रबाट मात्र नेपाललाई शान्त, समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने धारणा राख्दै थापाले सहिदहरूको त्याग, बलिदान र आदर्शलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु सबैको साझा दायित्व भएको बताए।

कांग्रेस नेतृत्वमा संविधानसभाबाट निर्माण भएको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’मा लिपिबद्ध जनअधिकारको प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन आवश्यक रहेको उनले उल्लेख गरे।

सभापति थापाले सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य हासिल गर्न सहिद दिवसले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे।