रोजगारी

गोरखापत्र संस्थानमा पत्रकारदेखि प्राविधिकसम्म अवसर

१६ माघ, काठमाडौं । गोरखापत्र संस्थानले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्तिका लागि ७३ वटा विज्ञापन आह्वान गरेको छ ।

लोक सेवा आयोगबाट आ.व. २०८२/८३ का लागि स्वीकृत वार्षिक कार्यतालिकाअनुसार प्राप्त सहमतिका आधारमा संस्थानमा रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ति गर्न लागिएको हो । यससम्बन्धी सूचना संस्थानले २०८२ माघ १६ गते सार्वजनिक गरेको छ ।

सूचनाअनुसार पत्रकारिता, प्रशासन र प्राविधिक सेवाअन्तर्गत नायब कार्यकारी सम्पादक, समाचारदाता, फोटो पत्रकार, प्रशासन अधिकृत, लेखा अधिकृत, बजार तथा वितरण अधिकृत, प्रेस अधिकृत, सूचना प्रविधि अधिकृत, ग्राफिक तथा पेज डिजाइनर, सहायक तथा हेल्पर पदसम्म पदपूर्ति गरिनेछ ।

पत्रकारितातर्फ नेपाली र अंग्रेजी दुवै भाषाका समाचारदाता, फोटो पत्रकार तथा सहायक फोटोग्राफर पदमा खुला, महिला, आदिवासी जनजाति, मधेसी र दलित समूहबाट दरखास्त आह्वान गरिएको छ । प्रशासन सेवामा सामान्य प्रशासन, लेखा र बजार समूहका अधिकृत तथा सहायक पद समेटिएका छन् भने प्राविधिक सेवामा मुद्रण, कम्प्युटर, सूचना प्रविधि, ग्राफिक डिजाइन र बाइण्डिङसम्बन्धी पदहरू रहेका छन् ।

इच्छुक उम्मेदवारले गोरखापत्र संस्थानको वेबसाइट www.gorkhapatra.org.np बाट दरखास्त फाराम डाउनलोड गरी आवश्यक कागजातसहित केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौंमा पेश गर्नुपर्नेछ । म्याद नाघी प्राप्त दरखास्तमाथि कुनै कारबाही नहुने संस्थानले जनाएको छ ।

दरखास्त दिने अन्तिम मिति २०८२ फागुन ७ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुरसहित फागुन १४ गतेसम्म आवेदन दिन सकिनेछ । लिखित परीक्षा लोक सेवा आयोगमार्फत सञ्चालन हुनेछ ।

उमेर हद अधिकृत नवौं तहका लागि ४५ वर्ष, छैटौं तहका लागि ३५ वर्ष (महिला तथा अपाङ्गता भएका व्यक्तिका हकमा ४० वर्ष) र सहायक तहका लागि ३५ वर्ष (महिला तथा अपाङ्गता भएका व्यक्तिका हकमा ४० वर्ष) तोकिएको छ । संस्थानमा कार्यरत स्थायी कर्मचारीलाई उमेरको हद नलाग्ने स्पष्ट गरिएको छ ।

साथै, सर्वोच्च अदालतको परमादेशअनुसार कानुनी व्यवस्था पूरा भएपछि मात्रै पदपूर्ति प्रक्रिया अघि बढाइने विशेष सूचना पनि संस्थानले जारी गरेको छ ।