१६ माघ, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमतीको हत्या गरी श्रीमान् आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका छन् ।
प्रहरीका अनुसार ३० वर्षीय विनादे पाख्रिनले २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेपछि उनी टिकाभैरव प्रहरी चौकी पुगेर आफूले हत्या गरेको स्वीकार गर्दै आत्मसमर्पण गरेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानअनुसार दुवै जनाले मदिरा सेवन गरेपछि विवाद भएको र सोही क्रममा विनादे पाख्रिनले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । घटनापछि खाटमा सुताएको अवस्थामा कोपिला पाख्रिनको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटना शुक्रबार बिहान भएको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।





