राजनीति

काठमाडौं छाडेको होइन, मधेश बदल्न गएको हुँ : गगन थापा

१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं–४ छाडेर सर्लाहीबाट राजनीतिक जिम्मेवारी सम्हाल्ने निर्णय भावनात्मक रूपमा निकै कठिन भएको बताएका छन्। शनिबार काठमाडौं–४ कांग्रेसको निर्वाचन परिचालन मूल समिति गठन तथा घोषणा कार्यक्रममा बोल्दै उनले उक्त निर्णयका क्रममा आफू भावुक बनेको उल्लेख गरे।

सभापति थापाले निर्णय सुनाउँदा आफू मात्र होइन, साथीसहयोगीहरू पनि भावनामा बगेको बताए। “निर्णय गर्दा साथीहरू रोइरहनुभएको थियो, म पनि रोएको थिएँ,” उनले भने, “देशको नेतृत्व गर्न मधेशलाई अंगालो हाल्नुपर्छ। मधेश र काठमाडौंलाई जोड्ने मेरो चाहना हो। म फुटाउने होइन, जोड्ने राजनीति गर्छु।”

काठमाडौं–४ ‘छाडेर गएको’ भन्ने अभिव्यक्तिले आफूलाई दुःख लाग्ने भन्दै त्यस्तो नबोलिदिन उनले आग्रह गरे। आफू काठमाडौंमै रहेको र नयाँ जिम्मेवारीका कारण मधेशतर्फ गएको स्पष्ट पार्दै उनले मधेशका मुद्दामा परिवर्तन ल्याउने आफ्नो उद्देश्य रहेको बताए। “म यहीँ छु। मैले जीवनको धेरै समय तपाईंहरूसँगै बिताएको छु। मधेशका मुद्दा बदल्न चाहन्छु,” उनले भने।

तीन पटक निर्वाचन जित्दा काठमाडौं–४ ले आफूलाई दिएको माया र विश्वासको स्मरण गर्दै सभापति थापाले २०७९ सालको निर्वाचनमा पनि कठिन परिस्थितिमा मतदाताले साथ दिएको बताए। “त्यसबेला मलाई डर थियो, तर तपाईंहरूले मलाई हौसला दिनुभयो,” उनले भने, “सर्लाहीमा भेटेका मान्छेलाई पनि यही भन्छु—कांग्रेस भएर होइन, सबैले भोट हालेर माया गर्नुभएको हो।”

आगामी निर्वाचनमा काठमाडौं–४ मा अघिल्लो पटकभन्दा अझ सहज वातावरण रहने दाबी गर्दै उनले अन्तिमसम्म यही क्षेत्रबाट लड्नुपर्छ भन्ने सुझाव आफूले धेरैबाट पाएको बताए। अन्य दलका कार्यकर्ताबाट समेत ‘तपाईं चाहिन्छ’ भन्ने प्रतिक्रिया आएको उल्लेख गर्दै थापाले काठमाडौं–४ सँगको आफ्नो सम्बन्ध सधैं बलियो रहने विश्वास व्यक्त गरे।