समाचार

प्रतिनिधिसभा निर्वाचन : १५ जिल्लाका प्रत्यक्षतर्फका मतपत्र छपाइ सम्पन्न

१८ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका १५ जिल्लाका मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रका मतपत्र छापिसकिएको हो ।

आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइको काम जारी छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाका प्रत्यक्षतर्फका मतपत्र छपाइ पूरा भइसकेको छ ।

यसैगरी दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेत क्षेत्र नम्बर १ र २, रुकुम पश्चिम, बाजुरा र अछामका क्षेत्र नम्बर १ र २, कैलाली क्षेत्र नम्बर १, झापा क्षेत्र नम्बर ५ तथा सुनसरी क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।

नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० थान छपाइ सम्पन्न भई सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको छ । त्यस्तै, समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ पूरा भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ ।