राजनीति

उपसभापति शर्माले झापा पुगेर भनेः चुनावपछिको प्रधानमन्त्री गगन थापा नै हुन्

१८ माघ, झापा। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार थापा मुलुकको नेतृत्व गर्न तयार रहेको बताएका छन् । उनले कार्यक्रममा गगन थापा नै अब चुनावपछिको प्रधानमन्त्री बन्ने दाबीसमेत गरेका छन् ।

झापा निर्वाचन क्षेत्र नं १ को आज भएको क्षेत्रीय कार्यकर्ता भेलामा उपसभापति शर्माले देश बनाउने दूरदृष्टि भएका कारण पार्टीले सभापति थापालाई नै भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको बताए । “नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति गगन थापाको योगदान, संस्कार र भिजन अतुलनीय छ,” उनले भने, “त्यसैले नेपाली कांग्रेसले उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्तावका साथ चुनावी अभियान सञ्चालन गरिरहेको छ ।” उपसभापति शर्माले पार्टीको हालै सम्पन्न विशेष महाधिवेशनबाट भागबन्डा र गुटको राजनीतिलाई अन्त्य गरिदिएको बताए । विगतमा ६० र ४० को भागबन्डा हुने गरेको चर्चा गर्दै अहिले पार्टी विभाजित मनस्थितिमा होइन, पूर्ण रुपमा चुनावमा होमिएको उनको भनाइ छ । पार्टीको विशेष महाधिवेशनपश्चात् उपसभापति शर्मा पहिलोपटक गृह निर्वाचन क्षेत्र झापा–१ को कार्यक्रममा आएका हुन् । सो क्षेत्रबाट नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यमा केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ । उपसभापति शर्माले पार्टीका उम्मेदवार पाण्डेलाई चुनावमा जिताउन आह्वान गरे ।