१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारीलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाल रहेका छन्। अख्तियारको टोलीले आइतबार गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार पुडासैनीको साथबाट घुसबापत लिएको १० हजार रुपैयाँसहित जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ। त्यस्तै, रिजालको साथबाट घुसको रकम २० हजार र स्रोत नखुलेको रकमसमेत गरी २ लाख ६८ हजार २८८ रुपैयाँ फेला परेको छ।
कुरियर कम्पनीमार्फत विदेश पठाइने सामानमा अनियमितता गर्दै घुस माग्ने गरेको सूचनाका आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। घटनासँगै २३ थान मोबाइल फोनसमेत बरामद गरिएको छ।
अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





