२१ माघ, नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले चालु निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन्। मंगलबार राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरूसँग कुरा गर्दै सो जानकारी दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले सरकारले फागुन २१ गते नै निर्वाचन सम्पन्न गराउने गरी सक्रिय रूपमा काम गरिरहेको स्पष्ट पारिन्। निर्वाचन सर्न सक्ने भन्ने हल्लाबारे पत्रकारको जिज्ञासामा उनले निर्वाचन नसरिने दाबी गर्दै भनिन् कि यो समयमा ठूलो खर्च स्वाभाविक रूपमा बढ्ने गरेको छ।
उनका अनुसार निर्वाचनका लागि आवश्यक भौतिक साधन, सुरक्षासम्बन्धी व्यवस्थापन तथा विभिन्न अभावहरू पूरा गर्न ठूलो रकम खर्च भइरहेको छ। ‘यो खर्च सबै निर्वाचनमा हुने होइन, अहिलेको आवश्यकताका कारण हो,’ उनले भनिन्, ‘निर्वाचनका लागि विभिन्न देशबाट सहयोग पनि प्राप्त भइरहेको छ, यदि यो अवस्था नआएको भए त्यो सहयोग अन्य क्षेत्रमा प्रयोग हुन्थ्यो।’
प्रधानमन्त्री कार्कीले निर्वाचन जसरी पनि सम्पन्न हुने र नयाँ जनप्रतिनिधि चयन भएपछि विधिवत रूपमा नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरिने प्रतिबद्धता पनि व्यक्त गरिन्।





