२४ माघ, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। २० वर्षीय अनिल महतो आफ्नै घरदेखि करिब एक किलोमिटर टाढा रहेको पोखरीमा बुधबार बिहान मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार, अनिल सोमबार राति घरबाट निस्किएपछि बेपत्ता भएका थिए। मंगलबारसम्म पनि उनी सम्पर्कमा नआएपछि परिवारले खोजी सुरु गरेको थियो। खोजतलास गर्दा फेला नपरेपछि मंगलबार नै प्रहरीमा निवेदन दर्ता गराइएको थियो।
बुधबार दिउँसो स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलबाट अनिलको मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
परिवारका अनुसार अनिल लेबरको रूपमा राजमिस्त्रीको काम गर्दै आएका थिए। उनका बुवा रामप्रताप महतोले सोमबार राति छोरासँगै खाना खाएर सुत्न गएको र मंगलबार बिहान उठ्दा अनिलको कोठाको ढोका खुला रहेको बताए। लामो समयसम्म घर नफर्किएपछि खोजी गरेर प्रहरीमा जानकारी गराइएको उनको भनाइ छ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको थियो। पोस्टमार्टम सम्पन्न भए पनि घटनाको निष्पक्ष र न्यायिक छानबिनको माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेको जनाएको छ।
अनिलको बुधबार नै विवाहको छेका तोक्ने कार्यक्रम तय भएको थियो। विवाहको तयारी चलिरहेका बेला भएको यस घटनाले परिवारसहित पूरै गाउँ शोकमा डुबेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





