समाचार

सरकारी सवारी चढेर मत माग्दै जनप्रतिनिधि, सिरहामा आचारसंहिता उल्लंघनको आरोप

२५ माघ, सिरहा । सिरहामा स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी र लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले सरकारी सवारी साधन प्रयोग गरी आफ्नै पार्टीका उम्मेदवारको पक्षमा चुनावी प्रचार गरेको आरोप लागेको हो ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले यस विषयमा सम्बन्धित मेयर र गाउँपालिका अध्यक्षलाई पत्राचार गरेर स्पष्टीकरण सोधिने बताएका छन् ।

स्थानीय रञ्जित यादवका अनुसार नगर प्रमुख चौधरीले स.१ झ ५१० नम्बरको सरकारी गाडी प्रयोग गरी चुनावी सभामा सहभागी भई नेपाली कांग्रेसका सिरहा क्षेत्र–१ का उम्मेदवार रामसुन्दर चौधरीको पक्षमा मतदान अपिल गरेका थिए । यस्तै, लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष ठाकुरले पनि स.१ झ ५०६ नम्बरको सरकारी गाडी प्रयोग गरी लक्ष्मीपुर पतारी गाउँपालिका–५ सितापुरमा आयोजित चुनावी कार्यक्रममा सहभागिता जनाएका थिए ।

निर्वाचन आचारसंहिताले राजनीतिक वा पार्टीका कुनै पनि कार्यक्रममा सरकारी सवारी साधन प्रयोग गर्न स्पष्ट रूपमा निषेध गरेको छ । आचारसंहिताको परिच्छेद ३, दफा ५ (क) को उपदफा (४) अनुसार स्थानीय तहका पदाधिकारीहरूले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा मात्र पार्टीको प्रचारमा संलग्न हुन सक्ने व्यवस्था छ ।

यस विषयमा प्रतिक्रिया दिँदै नगर प्रमुख चौधरीले आफू पार्टी प्रचारका लागि नभई मेयरको कामका लागि कार्यक्रममा गएको दाबी गरेका छन् । तर सार्वजनिक भएका दृश्यहरूमा उनी उम्मेदवारको पक्षमा मत मागिरहेको देखिन्छ । अनलाइनखबरकर्मीले सोधेको प्रश्नमा उनले “मेयर सरकारी गाडी नचढेर कुन गाडी चढ्ने ?” भन्दै प्रतिप्रश्न गरेका छन् ।

उता, गाउँपालिका अध्यक्ष ठाकुरले कार्यक्रमस्थलमा पुगेको स्वीकार गर्दै आचारसंहिता विपरीत काम भएको भए पनि अबदेखि त्यस्तो गल्ती नदोहोरिने बताएका छन् । उनले भने, “आजदेखि त्यस्तो गल्ती हुने छैन ।”

सहायक प्रमुख जिल्ला अधिकारी बरालले जिल्ला प्रशासन कार्यालयबाट यसअघि नै राजनीतिक कार्यक्रममा सरकारी गाडी प्रयोग नगर्न सूचना जारी गरिएको जानकारी दिँदै आचारसंहिता उल्लंघन भएको पाइए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारे । उनले भने, “सम्बन्धित मेयर र अध्यक्षलाई पत्र काटिन्छ, अनुगमनपछि प्रतिवेदन पेश गरी कारबाही प्रक्रिया अघि बढाइन्छ।”