२६ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट सोमबार पनि निरन्तर देखिएको छ। आइतबार १०.२४ अंकले घटेको नेप्से सोमबार थप २६.०५ अंकले ओरालो लाग्दै २६७२.३९ अंकमा बन्द भएको छ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सेयर बजारमा नकारात्मक धारणा बलियो बन्दै गएको देखिन्छ। निर्वाचनका बेला बजारमा लगानी बढ्ने अपेक्षा गरिए पनि हाल देखिएको अनिश्चितता र नैराश्यताले आम लगानीकर्ताको मनोबल कमजोर बनाएको विश्लेषकहरूको भनाइ छ।
सोमबार कारोबार सुरु भएदेखि नै नेप्से निरन्तर घट्दो क्रममा रह्यो। कारोबारको अन्तिम समयमा गिरावटको गति केही सुस्त भए पनि बजार समग्रमा नकारात्मक नै रह्यो। दिनको सुरुवातमा २६९८.४५ अंकमा रहेको नेप्से सूचक कारोबार बन्द हुँदा २६ अंकले घटेर २६७२.३९ अंकमा झरेको हो।
सोमबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। यस दिन २१२ कम्पनीको सेयर मूल्य घट्दा ४६ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। मूल्य बढ्ने कम्पनीमध्ये खानीखोला र रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
समूहगत परिसूचकतर्फ पनि प्रायः सबै समूह ओरालो लागेका छन्। बैंकिङ समूह १०.६ अंकले घट्दा विकास बैंक ७९.०७, वित्त ५८.१३ अंकले घटेका छन्। त्यसैगरी होटल तथा पर्यटन १०४.२०, जलविद्युत् १९.६१, लगानी ०.९५, जीवन बीमा १२५.४२, उत्पादनमूलक ११४.२०, लघुवित्त ३०.०६, सामूहिक लगानी कोष ०.१०, निर्जीवन बीमा १५९.१७ र अन्य समूह ४६.७५ अंकले घटेका छन्। व्यापार समूह भने ९.०१ अंकले बढ्दै हरियो रह्यो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ३२४ कम्पनीका १ लाख २ हजार २ सय ८१ कारोबारमार्फत २ करोड ६७ लाख ६६ हजार ३ सय ४७ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १० अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ। आइतबार नेप्सेमा ११ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।





