राजनीति

रवि लामिछानेको जनसम्पर्क कार्यक्रममाथि प्रशासनको नजर

बुटवल, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मंगलबार पश्चिम नवलपरासीमा तय गरिएको चुनावलक्षित कार्यक्रमप्रति जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले चासो देखाएको छ । प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न र नगराउन चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीद्वारा जारी सूचनामा माघ २७ गते जिल्लामा लामिछानेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ तय भएको जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता २०८२ विपरीतका गतिविधि नगर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरिएको उल्लेख छ ।

लामिछाने सोमबार सुप्रिम सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको तारिख बुझ्न जिल्ला अदालत रुपन्देही पुगेका थिए । सोही क्रममा उनले रुपन्देहीका पाँच निर्वाचन क्षेत्रका दुई दर्जनभन्दा बढी स्थानमा पुगेर समर्थकलाई सम्बोधन गरेको आरोप लागेको छ ।

यस्तै प्रकारको कार्यक्रम मंगलबार पश्चिम नवलपरासीमा पनि तय भएपछि प्रशासनले आचारसंहिता उल्लंघन नहुने गरी मात्रै कार्यक्रम गर्न निर्देशन दिएको हो ।

रास्वपा नेता तथा नवलपरासी पश्चिम क्षेत्र नं. १ का उम्मेदवार विक्रम खनालले भने आचारसंहिता उल्लंघन नहुने गरी कार्यक्रम गरिने बताएका छन् । झण्डा प्रयोग नगरी मतदाता तथा कार्यकर्तासँग अभिवादन मात्रै गरिने उनको भनाइ छ ।
‘अन्य दलले गरिरहेका गतिविधि हामीले गर्न नपाउने भन्ने हुँदैन,’ उनले भने ।

यसैबीच, रुपन्देहीमा लामिछानेले सोमबार निर्वाचन कार्यालयले दिएको अनुमति विपरीत चुनावी सभा शैलीमा भाषण गरेको भन्दै आचारसंहिता उल्लंघनको आरोप लागेको छ । निर्वाचन कार्यालयले सडकमा परिचयात्मक भेटघाट गर्न मात्रै अनुमति दिएको भए पनि विभिन्न स्थानमा उनले उम्मेदवारलाई मतदान गर्न आह्वान गरेको बताइएको छ ।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले आचारसंहिता उल्लंघन भए–नभएको अनुगमन गरी आवश्यक कारबाही गरिने बताए ।

निर्वाचन आचारसंहिताअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले फागुन ४ देखि १८ गतेसम्म मात्रै सभा, जुलुस, र्‍याली र प्रचारप्रसार गर्न पाउने व्यवस्था छ । फागुन १९ र २० गते मौन अवधि लागू हुनेछ ।

निर्वाचन आयोगका अनुसार माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ र अर्को सूचना नआएसम्म कायम रहनेछ ।