२७ माघ, काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर लगातार बिग्रँदै गएको छ । सोमबार बिहान काठमाडौंको वायु प्रदूषण अस्वस्थताको तह नाघेको छ ।
स्विट्जरल्याण्डस्थित रियल–टाइम वायु गुणस्तर मापन गर्ने संस्था ‘आईक्यू एयर’ का अनुसार समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७१ पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि वायु अस्वस्थ मानिन्छ ।
नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांकअनुसार ० देखि ५० सम्म राम्रो, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ तथा ३०१ भन्दा माथि पुगेमा खतरनाक अवस्था मानिन्छ ।
आजको तथ्यांकअनुसार काठमाडौं विश्वकै सबैभन्दा अस्वस्थ शहरमध्ये १०औँ स्थानमा परेको छ । वायु प्रदूषणको सूचीमा भारतको दिल्ली पहिलो र बंगलादेशको ढाका दोस्रो स्थानमा छन् । दिल्लीको एक्यूआई ३०० नाघेर खतरनाक तहमा पुगेको छ भने ढाकाको वायु गुणस्तर २८८ रहेको छ, जुन निकै अस्वस्थ मानिन्छ ।
वायु प्रदूषण बढ्दै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीलाई सतर्क रहन विज्ञहरूले सुझाव दिएका छन् ।




