२९ माघ, काठमाडौं । देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ वटा सूचकको आधारमा गरेको मूल्यांकन अनुसार काठमाडौं महानगरपालिकाले ४४.९७ अंक मात्र प्राप्त गरेको हो ।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार यस वर्ष महानगरपालिकामध्ये मोरङको विराटनगर महानगरपालिका सबैभन्दा अब्बल सावित भएको छ । विराटनगरले ७८.११ अंक प्राप्त गरी पहिलो स्थान हासिल गरेको छ । दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ, जसले ७६.३३ अंक पाएको छ । तेस्रो स्थानमा चितवनको भरतपुर महानगरपालिका रहेको छ, जसले ६८.०४ अंक प्राप्त गरेको छ ।
त्यसैगरी पोखरा महानगरपालिकाले ५८.७६ अंकसहित चौथो स्थान हासिल गरेको छ भने वीरगञ्ज महानगरपालिकाले ५४ अंक पाउँदै पाँचौं स्थानमा रहेको छ । काठमाडौं महानगरपालिका ४४.९७ अंकसहित छैटौं तथा अन्तिम स्थानमा परेको छ ।
आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा कुल १७ सूचकलाई आधार मानेको थियो । ती सूचकमा १० असारभित्र बजेट सार्वजनिक गरेको अवस्था, असार मसान्तभित्र बजेट पारित गरेको/नगरेको, आर्थिक वर्ष २०८१/८२ मा उठेको घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरेको/नगरेको विषय समावेश छन् ।
यसैगरी आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाएको/नबुझाएको, कात्तिक मसान्तभित्र बजेट समीक्षा सार्वजनिक गरेको अवस्था, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयरको प्रयोग, शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित सूचकहरूलाई पनि मूल्यांकनका आधार बनाइएको छ । विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिलाको अनुपात, एसईई परीक्षाको नतिजा तथा खोप लगाएका बालबालिकाको अनुपात समेत मूल्यांकनमा समेटिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार देशभरिका स्थानीय तहमध्ये ८० अंक कटाउने स्थानीय तह चारवटा मात्र रहेका छन्, जसमा अधिकांश पश्चिम नेपालका स्थानीय तह रहेको उल्लेख गरिएको छ ।





