२९ माघ, काठमाडौं । साताको सुरुवातदेखि निरन्तर ओरालो लागेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार सुधारिएको छ । लगातार चार दिन घटेको नेप्से परिसूचक बिहीबार ८.९७ अंकले बढ्दै २६७१.०७ बिन्दुमा पुगेको हो ।
यसअघि आइतबार १०.२४, सोमबार २६.०५, मंगलबार १०.२५ र बुधबार ०.०४ अंक घटेको नेप्सेमा बिहीबार सकारात्मक मोड आएको हो । नेप्से सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ ।
नेपाल धितोपत्र बोर्डले बुधबार मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका जारी गरेपछि लगानीकर्ताको मनोबलमा सुधार आएको देखिन्छ । अब बैंकबाट कर्जा लिएर ब्रोकरलाई भुक्तानी गर्नुपर्ने झन्झट हट्ने भएपछि बजारमा कारोबार र लगानी दुवै बढ्ने अपेक्षा गरिएको छ ।
बिहीबार नेप्सेमा १ सय ३९ कम्पनीको सेयर मूल्य बढ्दा १ सय १५ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । यस दिन मध्यभोटेकोशी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको नेप्सेले जनाएको छ ।
जलविद्युत् कम्पनीको सेयर मूल्यमा उल्लेख्य सुधार देखिएको छ भने समूहगत रूपमा जलविद्युत् सूचक ३४.६५ अंकले बढेको छ । त्यस्तै बैंकिङ ४.७५, विकास बैंक ६६.८०, वित्त ८.५९, लगानी ०.६५, जीवन बीमा ६३.२२, उत्पादनमूलक ५५.०४ र सामूहिक लगानी कोष ०.०४ अंकले उक्लिएका छन् ।
तर होटल १२१.३४, लघुवित्त ०.६९, निर्जीवन बीमा १६.२७, अन्य ६.२१ र व्यापार समूह ३.५७ अंकले घटेका छन् ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । बिहीबार ३ सय ३७ कम्पनीको १ लाख ६ हजार कारोबारबाट २ करोड ७७ लाख ८० हजार ५ सय ८४ कित्ता सेयर ११ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ । बुधबार भने ८ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
लगातारको गिरावटपछि नेप्सेमा देखिएको यो सुधारले बजारमा सकारात्मक संकेत दिएको लगानीकर्ताहरूले बताएका छन् ।





