३ फागुन, विराटनगर । शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
प्रहरीका अनुसार बा८च ६५०८ नम्बरको स्कोरपिओ गाडी दुर्घटनामा परेपछि जाँच गर्दा सिट तथा डिक्कीभित्र प्लास्टिकले बेरिएको अवस्थामा ४२० किलो गाँजा फेला परेको हो । उक्त गाडी भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको बेला अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।
मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालका अनुसार सुरक्षाकर्मीलाई छल्न गाडीलाई तीव्र गतिमा कुदाउँदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





