समाचार

बंगलादेशले पायो निर्वाचित सरकार, प्रधानमन्त्रीको कुर्सीमा तारिक रहमान

५ फागुन, काठमाडौं । लामो समयको राजनीतिक संक्रमणपछि बंगलादेशले आज निर्वाचित सरकार पाउँदैछ । १६ महिनाअघि सुरु भएको विद्यार्थी आन्दोलनपछि बनेको अन्तरिम व्यवस्थाको अन्त्य गर्दै बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

नोबेल पुरस्कार विजेता **मोहम्मद युनुस**को नेतृत्वमा बनेको अन्तरिम सरकारले आज निर्वाचित सरकारलाई औपचारिक रूपमा सत्ता हस्तान्तरण गर्दैछ । अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमबार राति राष्ट्रका नाममा विदाई सम्बोधन गर्दै पद छोड्ने घोषणा गरेका थिए ।

१२ फेब्रुअरीमा सम्पन्न आमनिर्वाचनमा बीएनपी गठबन्धनले २१२ सिट जित्दै दुईतिहाइ बहुमत हासिल गरेको थियो । यस्तै, जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ ।

बीएनपीका अनुसार पार्टी अध्यक्ष तारिक रहमानले आज प्रधानमन्त्रीका रूपमा शपथ लिने कार्यक्रम छ । **बीबीसी**का अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह अपराह्न ४ बजेका लागि तय गरिएको छ ।

यसैबीच, नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण समारोह पनि आजै आयोजना हुँदैछ । मुख्य निर्वाचन आयुक्तले बिहान १० बजे संसद् भवनको साउथ प्लाजामा सांसदहरूलाई शपथ गराउने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।

लामो राजनीतिक अस्थिरतापछि निर्वाचित सरकार गठनसँगै बंगलादेशमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ ।