राजनीति

युवाको ऊर्जा सम्बोधन नगरे राष्ट्र शान्त हुँदैन : प्रधानमन्त्री कार्की

७ फागुन, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको सार आमनागरिकको जीवनमा देखिनुपर्ने बताएकी छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिकमञ्च टुँडीखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले लोकतन्त्र कागजमा सीमित नभई नागरिकको अनुहारको मुस्कान र निस्फिक्री निद्रामा झल्कनुपर्ने धारणा राखिन्।

प्रधानमन्त्री कार्कीले युवालाई बेवास्ता गरेर कुनै पनि राष्ट्र स्थिर र शान्त रहन नसक्ने स्पष्ट पारिन्। युवामा ऊर्जा, नैतिक आक्रोश र परिवर्तनको आकांक्षा रहेको उल्लेख गर्दै उनले नातावाद, कृपावाद र भ्रष्टाचार युवाले नस्वीकार्ने जिकिर गरिन्। असन्तोषलाई दबाउने होइन, सम्बोधन गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उनले जानकारी दिइन्। निर्वाचनमार्फत मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वतर्फ लैजान सकिने विश्वास व्यक्त गर्दै उनले सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरिन्।

वि.सं. २०१५ साल फागुन ७ गतेबाट सुरु भएको नेपालको पहिलो प्रजातान्त्रिक निर्वाचनको स्मरण गर्दै उनले तोकिएकै मितिमा विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चितता व्यक्त गरिन्। निर्वाचनबाट गठन हुने संसद् र सरकारले लोकतन्त्रलाई जीवन्त, परिणाममुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने अपेक्षा पनि उनले राखिन्।

प्रधानमन्त्री कार्कीले लोकतन्त्र प्रक्रिया मात्र नभई परिणाम दिने प्रणाली हुनुपर्नेमा जोड दिइन्। विधिको शासन कायम राख्दै प्रक्रियाका नाममा नागरिकलाई ढिलासुस्ती, हैरानी वा प्रताडना दिनु लोकतान्त्रिक अभ्यास नभएको उनको भनाइ थियो।

२३ र २४ भदौको घटनापछि बनेको सरकारले सुशासन, पारदर्शिता, समन्याय र जवाफदेहितालाई व्यवहारमा उतार्ने दिशामा काम गरिरहेको उल्लेख गर्दै उनले असामान्य अवस्थालाई सामान्य बनाउँदै शान्ति सुव्यवस्था कायम गर्नु र निर्वाचनको वातावरण तयार गर्नु सरकारको प्राथमिक दायित्व भएको बताइन्।

लोकतन्त्रलाई सुदृढ बनाउन संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबैलाई एकताबद्ध हुन उनले अपील गरिन्।