राजनीति

भ्रष्टाचार गर्ने कोही पनि सार्वजनिक पदमा रहन पाउँदैन – गगन थापा

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने लक्ष्य प्रस्तुत गरेका छन्। काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरिएको ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले स्पष्ट पारे कि भ्रष्टाचारमा संलग्न व्यक्तिको राजनीतिक हैसियत हेरी छुट दिइने छैन।

उनले भने, “जो सुकैले भ्रष्टाचार गरे, चाहे सभापति होस् वा कुनै पदमा रहेकाले, उसलाई सार्वजनिक पदमा बस्ने अधिकार छैन।” सभापति थापाले २०४७ साल यताका सबै पार्टीका नेताहरूको भ्रष्टाचार छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे।

थापाले नागरिक केन्द्रित सेवा प्रणालीको महत्व औँल्याउँदै भने, “कुन काम कति समयमा सकिन्छ भन्ने समयसीमा भित्रै पुरा हुनुपर्छ। समय ढिला भएमा नागरिकले क्षतिपूर्ति पाउनुपर्छ। सार्वजनिक सेवा एक दिनमा दिने भनिएको हो भने त्यो एकै दिनमा पुरा हुनुपर्छ, एक घण्टामा सेवा दिने भनिएको हो भने त्यसो नै हुनुपर्छ।”

उनले प्रविधिको उपयोग, कानून संशोधन, भौतिक पूर्वाधार निर्माण र घरमै सेवा पुर्याउने माध्यमको उपयोग गरी डिजिटल सार्वजनिक सेवा २४ घण्टा, सातै दिन उपलब्ध गराउने कांग्रेसको योजना अघि बढाइएको बताए।

यसरी कांग्रेसले भ्रष्टाचारमुक्त, समयसीमामा आधारित र नागरिकमैत्री सेवा प्रणालीको वाचा गर्दै आगामी पाँच वर्षका लागि रणनीति सार्वजनिक गरेको छ।