काठमाडौं, ७ फागुन । नेकपा एमालेले आगामी निर्वाचनमा सरकारको नेतृत्व पाए तत्काल कार्यान्वयन गर्ने ११ प्रमुख योजना सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंको तारे होटल एभरेस्टमा आयोजित भव्य समारोहमा सार्वजनिक गरिएको घोषणापत्रमा विशेषगरी जेनजी (१८–२८ वर्ष) उमेर समूहका युवालाई लक्षित योजना राखिएको छ।
एमालेको घोषणापत्रअनुसार:
- युवाका लागि निःशुल्क इन्टरनेट डाटा: १८–२८ वर्षका युवालाई मासिक १० जीबी निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराइने।
- स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन: युवा उद्यमीका लागि प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड, आईटी/टेक उत्पादन, एआई, डिजिटल मार्केटिङ र एप विकासमा तालिम सुविधा।
- वैदेशिक रोजगारीमा श्रमिकलाई सम्मान: विदेशी रोजगारीमा रहेका श्रमिकको खातामा वार्षिक ५ हजार रुपैयाँ जम्मा र सामाजिक सुरक्षा निरन्तरता।
- विद्यार्थीलाई आर्थिक सहयोग: प्राविधिक उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण र न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसिप।
- किशोरी र विद्यार्थीका लागि सुविधा: सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड, कक्षा १० सम्मका विद्यार्थीलाई खाजा उपलब्ध गराइने।
- श्रमिकको न्यूनतम पारिश्रमिक: आगामी सरकारले न्यूनतम मासिक पारिश्रमिक २५ हजार पुर्याउने र सामाजिक सुरक्षा प्रणालीमा समावेश गरिने।
- शिक्षक र स्वास्थ्य स्वयंसेविकाको संरक्षण: शिक्षकको मर्यादा र सामाजिक सुरक्षा सुनिश्चित, स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता।
- महिला उद्यमशीलता र मातृ–शिशु कल्याण: उद्यमी महिलालाई २० लाखसम्म ऋण, व्यवसाय र ऋणको निःशुल्क बीमा, गर्भवती महिलालाई मातृ–शिशु पोषण भत्ता र जीवन बीमा।
- गरीब परिवारको ऋण माफी: जेनजी आन्दोलनमा संलग्न अराजक तत्वबाट प्रभावित गरिब परिवारको बैंक तथा वित्तीय संस्थाबाट लिएको २५ हजारसम्मको ऋण माफी।
- सुरक्षाकर्मीको सम्मान: बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीको पेशागत मर्यादा, सेवा–सुविधा, सामाजिक सुरक्षा र स्वास्थ्योपचार सुनिश्चित।
एमालेले घोषणापत्रमार्फत युवा, विद्यार्थी, महिला, श्रमिक र सुरक्षाकर्मीसम्मलाई लक्षित गर्दै सामाजिक सुरक्षा, स्वरोजगार, स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापक पहल गर्ने प्रतिबद्धता जनाएको छ।





