समाचार

कर्णालीको गहिराइ बुझ्ने वाचा गर्दै बालेन : ‘तपाईंहरूको सपना बोकेर संसद्मा जान्छौं’

७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले कर्णालीका सपना बोकेर संसद्मा जाने प्रतिबद्धता जनाएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीको गरिबी धेरै नेताले देखे पनि वास्तविक रूपमा बुझ्ने काम कसैले नगरेको टिप्पणी गरे।

सम्बोधनका क्रममा उनले कर्णालीको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्वको चर्चा गरे। उनले रारा ताललाई स्मरण गर्दै पूर्वराजा राजा महेन्द्रले भनेझैं ‘स्वर्गकी अप्सरा भएको ठाउँ’को रूपमा व्याख्या गरे।

बालेनले देशकै सबैभन्दा लामो नदी, सबैभन्दा ठूलो जिल्ला र गाउँपालिका तथा सबैभन्दा गहिरो ताल रहेको भूभाग कर्णाली भएको उल्लेख गर्दै त्यसको ‘गहिराइ’ आजसम्म राज्यले नबुझेको बताए। “त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो,” उनले भने।

उनले डोल्पाको यार्सागुम्बा विश्वबजारसम्म पुग्न सक्ने तर कर्णालीको स्याउ र मार्सी चामल देशभर सहज रूपमा पुग्न नसक्नु विडम्बना भएको बताए। स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍याउने नीति लिने प्रतिबद्धता उनले व्यक्त गरे।

कर्णालीको सिंजा उपत्यकालाई नेपाली तथा खस भाषाको उद्गमस्थलका रूपमा उल्लेख गर्दै उनले यहाँको भाषा, लिपि, कला, संस्कृति र जात्रालाई संरक्षण गर्ने वाचा गरे।

काठमाडौं महानगरपालिकामा नेवा सभ्यताको संरक्षण गरेको उदाहरण दिँदै उनले कर्णालीको सभ्यता पनि त्यही प्रतिबद्धताका साथ जोगाउने बताए।

उनले कर्णालीमा अझै भोकमरी, बालमृत्युदर र मातृमृत्युदर उच्च रहेको उल्लेख गर्दै गरिबीलाई भाषणको विषय बनाउने होइन, समाधान खोज्ने नेतृत्व आवश्यक रहेको बताए। “कर्णालीको पीडा बेच्ने होइन, बुझ्ने नेतृत्व चाहिन्छ,” उनले भने।

अन्त्यमा उनले कर्णालीवासीको आशीर्वाद माग्दै ‘कर्णालीका सपना बोकेर जाने वाचापत्र’ यहींबाट घोषणा गरिएको बताए। “आजबाट तपाईंका सपना हाम्रा सपना हुन्,” उनले सम्बोधन टुंग्याए।